योजना प्रमुखले घुस दिएको एक लाखको बिटो !

योजना प्रमुखले घुस दिएको एक लाखको बिटो !


इन्जिनियर्स नेपाल |  माघ १७, २०७६, काठमाडौं


#
engineersnepal.com

#

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष हुन् प्रा.डा. दीपक भट्टराई । उनको गत कात्तिकमा ६८ वर्षको उमेरमा निधन भएको हो । नेपालमा इन्जिनियरिङको पढाइ सरकारी कलेजहरुबाहेकमा पनि हुनसक्छ भन्ने अवधारणाका साथ अघि बढेर सफलतामा पु¥याउने उनी इन्जिनियरिङ क्षेत्रका पहिलो व्यक्ति हुन् । उनी तीन वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । नेपाल इन्जिनियरिङ कलेजबाहेक उनले नेपाल मेडिकल कलेज, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखरा र किष्ट मेडिकल कलेजको स्थापना गरेका थिए । स्वर्गीय भट्टराईले लेखेको ‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ नामक आत्मकथाबाट हामीले एक अंश यहाँ साभार गरेका छौँ :

काठमाडौंका चारवटा पुल सडक विभागको सडक बाढी पुनस्र्थापना आयोजनाअन्तर्गत दुईवटा आयोजना थिए । एउटा काठमाडौं उपत्यकाका चारवटा पुल र अर्को थानकोट–नौबीसे सडक करिडोर कार्य । पुलहरुको डिजाइन र सुपरभिजनको काम सिल्ट कन्सल्टले गरेको हो । निर्माण सुरु नहुँदै केशव कुँवर सरले मलाई अनुबन्ध गर्नुभएको थियो र लुम्बिनी तौलिहवा सडकको गुणस्तर नियन्त्रण आयोजनाको अन्तिम प्रतिवेदन बनाउने जिम्मा दिनुभएको थियो ।


ADVERTISEMENT

गौतमवीर सिंह ताम्राकार योजना प्रमुख भई काम गर्नुभएको उक्त आयोजनाको अन्तिम प्रतिवेदन ताम्राकारकै सहयोगमा बनाएर मैले दिएको थिएँ । यसैबीच पुलको काम सुरु भयो । सबैभन्दा पहिला सुरु भएको रातो पुलको जगको परीक्षण किला नै फेल भएर यसलाई छाडी नख्खु पुल र नैकापमा काम सुरु गरियो । चिनियाँ कम्पनीले ठेक्का लिएको थियो । निकै राम्रो टिम थियो उनीहरुको । प्रोजेक्ट म्यानेजर पनि निकै अनुभवी थिए ।

लुई स्याओ चिफ इन्जिनियर हुनुहुन्थ्यो । नेपालगञ्ज–सुर्खेत सडकखण्डको २३ वटा पुल बनाएर अनुभव संगाल्नुभएका । मलाई काम राम्रैसँग अगाडि बढेजस्तो लाग्थ्यो । समस्या केही थिएन । सबै सामग्री परीक्षण गरेर र कामलाई राम्रोसँग नियन्त्रण गरेर काम गर्दै थियौँ । नैकाप पुलको पहिलो स्पान (पार्ट) ढलान गर्ने बेला भयो । मसँग पहिला पुलको पूर्व तनावित बिम बनाएको अनुभव थिएन । अति पातलो २३ सेन्टिमिटरको बिमको बीच भाग अनि तल र माथिको चौडा भागहरुमा तार तान्ने पाइपहरु राख्नुपर्ने रहेछ । आफूले देखे जानेभन्दा फरक खालका डण्डीहरु हाल्नुपर्ने । 

कंक्रिट पसाल्ने र कसरी खाँद्ने काम
करिब अढाई मिटर अग्लो त्यो बिममा कसरी कंक्रिट पसाल्ने र कसरी खाँद्ने भन्ने बुझ्न मलाई गाह्रो भयो । स्याओले नक्सा बनाएर सम्झाउनुभयो । कसरी ठाउँ–ठाउँमा झ्याल राखेर त्यहाँबाट कंक्रिट राख्ने र कसरी फार्मा भाइब्रेटरले खाँद्ने भनेर । तर, फार्मा भाइब्रेटरले फार्मा नै भत्काउँदैन भनेर बुझ्न पनि गाह्रो भयो मलाई । मैले उहाँलाई मेरो अनुभव नभएकाले बुझ्नका लागि एउटा एक मिटर लामो पुलको यथार्थ साइजको बिमको टुक्रा बनाएर देखाउन निर्देशन गरेँ ।

मैले नबुझीकन, विश्वस्त नभईकन स्वीकृति दिने कुरै थिएन । मेरो निर्देशन पाएपछि खुसी साथ नै रेप्लिका बनाउने तयारी गरेजस्तो लाग्थ्यो मलाई । सके यो कुरालाई दुःख दिन खोजेको या कुरा नमिलेर दुःख दिन खोजेको मानेछन् क्यारे ! 

ढलान सुरुअघि बालुवाको कुरा पनि आएको थियो । यो बिम तीन सय ५० एमपीएको कंक्रिटबाट ढलान गर्नुपर्ने थियो । या नि ३५ किलोग्राम प्रतिवर्ग सेन्टिमिटर यसको तागत हुनुपर्ने । परीक्षण प्रयोगशालामा ३० प्रतिशत बढी तागत पाउनुपर्ने अर्थात् ४५५ किलोग्राम प्रतिवर्ग सेन्टिमिटर हुनुपर्ने । काठमाडौंको बालुवाबाट यति तागतको कंक्रिट बन्न नसक्ने अवस्था थियो । कारण, काठमाडौंमा पाइने बालुवामा अभ्रख मिलेको छ । दुई÷चारवटा मिक्स डिजाइन गरियो । हुनेसम्म धेरै सिमेन्ट हाल्दा पनि तागत आउन सकेन ।

मैले स्पेसिफिकेसनमा व्यवस्था भएको अभ्रखरहित बालुवा ल्याउन निर्देशन दिएँ । त्यस्तो बालुवा हेटौंडाको कर्रा खोलामा पाइने पनि जानकारी दिएँ । यो कुनै दुःख दिलाइ थिएन, आवश्यकता थियो । सके यसलाई पनि चिनियाँ मित्रहरुले दुःख दिएको, कुरा मिलाउनुपर्ने विषय पो ठानेका थिए कि ! मैले अनुमानमात्र गरेको । यसबारे कहिल्यै कुरा भएन ।

पैसाको बिटो
तर, बिमको रेप्लिका बनाउने कुरा गरेको एक÷दुई दिनपछि दोभाषेले फोन गरेर एकपटक भेट्नुप¥यो भन्नुभयो । मैले घरमा आउन भनेँ । त्यो शनिबार बेलुका चार–पाँच बजेको कुरा थियो । म साइटबाट फर्किसकेको थिएँ । घरमा पोखराबाट जयराम र इन्द्र गौचन आउनुभएको थियो । करिब एक घण्टापछि योजना प्रमुख र दोभाषे इन्जिनियर आउनुभयो । माथिको तल्लामा भएको मेरो बैठक कक्षमा थियौँ हामी । माथि नै बोलाएँ ।

साथीहरुसँग परिचय गराएँ । उहाँहरुले केही अप्ठ्यारो मान्नुभयो र एक्लै भेट गर्न चाहनुभयो । मैले साथीहरुलाई मेरो बेडरुममा पर्खिन भनेँ । लगत्तै योजना प्रमुखले आफूले बोकेको सानो झोला उघार्नुभयो । हजारको एउटा बिटो निकाल्नुभयो र मलाई दिन खोज्नुभयो । मैले इन्कार गरेँ । दोभाषेलाई भनेँ । ऊ पनि मान्ने कुरा थिएन । निकै वादविवाद हुन थाल्यो । जयराम र इन्द्रले बुझ्लान भनेर मलाई लाज र अप्ठ्यारो लाग्न थाल्यो । विवाद बढाउन चाहिन र अन्त्यमा लिएँ । उक्त बिटो टेबलको घर्रामा राखेँ । रिसाउने, गाली गर्ने अवस्था पनि थिएन । कारण बगलमा मित्रहरु थिए । शान्त भएर उहाँहरुलाई चिया खुवाएर पठाएँ । बेलुका इन्द्रजीहरु गएपछि गनेर हेरेँ । एक लाख रुपैयाँ रहेछ । 
भोलिपल्ट बिहान ८ बजे उक्त बिटो ब्रिफकेसमा हालेर हिँडे । योजना प्रमुखसँग नख्खुमा भेटेँ । दोभाषे र उहाँलाई एक छेउमा बोलाएँ । ब्रिफकेस खोलेँ र मैले खाममा हालेर लगेको उक्त बिटो फिर्ता गरेँ । भनेँ, अब आइन्दा नेपाली इन्जिनियरहरुलाई पैसा नदिनु । ती आफ्नो कम्पनीबाट धेरै पैसा पाउँछन् । ती ठूलो आत्मा भएका मानिस हुन् । आत्मा बेच्न चाहन्नन् ।

कसैले खान पाएन भने घरमा कोही बिरामी भयो भनेर मर्न लाग्यो भनेर माग्छन् होला त्यस्ताले मागेमा दिनुहोला । मेरो योजनामा फेरि कसैलाई पैसा दिन खोजेमा मलाई राम्रो लाग्नेछैन । योजना प्रमुखले मलीन मुख लगाएर मैले दिएको खाम लिनुभयो र कामतिर लागेजस्तो गर्नुभयो । 
इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट 



1 Comments

Achhamidinesh@gmail.com

Feb. 8, 2020, 9:47 p.m.

you are my real hero

Your Comments