योजना आयोगले जे काम गर्नुपर्ने थियो, त्यो नगरेको महसुस भयो

योजना आयोगले जे काम गर्नुपर्ने थियो, त्यो नगरेको महसुस भयो

सबैभन्दा पहिला हामी महिला हौँ भनेर नसोचौँ । हामी जस्तो पनि काम गर्न सक्छौँ भनेर आत्मबल बलियो बनाऔँ


इन्जिनियर्स नेपाल |  फागुन १, २०७६, काठमाडौं


#
engineersnepal.com

#

भक्तपुरको रैथाने उनको परिवार । बुबा सरकारी जागिरे । सिरहामा सरुवा भएपछि श्रीमतीलाई पनि उतै लगेका थिए । त्यतिबेलै सुमित्रा अमात्यको जन्म भयो । कुरा २०२५ सालको हो । केही समयपछि उनीहरु फेरि भक्तपुर आइपुगे । सुमित्रा यतै हुर्किइन् ।

उनले भक्तपुरमै प्रारम्भिक शिक्षा हासिल गरिन् । सानैदेखि गम्भीर स्वभावकी सुमित्राले स्कुले जीवनमा कहिल्यै दोस्रो हुन जानिनन् । पढाइमा सधैँ अब्बल उनी नतिजामा सधैँ प्रथम । यसरी उनले २०४१ सालमा विद्यार्थी निकेतनबाट एसएलसी पास गरिन् ।


ADVERTISEMENT

त्यतिबेला उत्कृष्ट नतिजा ल्याउने छोरा–छोरीलाई डाक्टर या इन्जिनियर पढाउनुपर्छ भन्ने मान्यता राख्थे मानिसहरु । यो पेशा परिवारको प्रतिष्ठासँग पनि जोडिएको थियो । त्यसैले सुमित्राले पनि इन्जिनियरिङ पढ्ने भइन् ।
‘डाक्टरभन्दा इन्जिनियरले धेरै पैसा कमाउँछ । डाक्टरले कोही बिरामी भए काम पाउने हो, इन्जिनियरले त सधैँ काम पाउँछ ।

बाल मानसपटलमा यस्ता कुरा खेले अनि मैले इन्जिनियर बन्ने निधो गरेँ’, सुमित्रा त्यतिबेलाको आफ्नो निर्णय सम्झिन्छिन् ।

पढाइ नै दाइजो
सुमित्रा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भइन् । छात्रवृत्तिमा । उनले पढाइका लागि कहिल्यै पैसा तिर्नुपरेन । उत्कृष्ट विद्यार्थी हुँदाको परिणाम थियो त्यो । अनि कारण उनका आमाबुबा ।

छोरीलाई कहिल्यै घरको काम लगाएनन् । सधैँ पढ्नमै प्रोत्साहन गरिरहे । छोरी मान्छे हुनु र पढ्न पाउनु, त्यतिबेलाको समाजका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । तर, सुमित्रा यसमा भाग्यमानी साबित भइन् ।

‘आमाबुबा मलाई हामी तिमीलाई दाइजो दिन सक्दैनौँ । तिम्रो दाइजो भनेको पढाइ हो । जति सक्छौ पढ भन्नुहुन्थ्यो’, सुमित्रा भन्छिन्, ‘शिक्षा न कसैले लुट्न सक्छ, न कसैसँग भागबन्डा लाग्छ, न कहिल्यै नाश हुन्छ, जति बाँड्यो त्यति बढ्छ भनेर उहाँहरु मलाई हौसला दिइरहनुहुन्थ्यो ।’ सुमित्राका एक दाजु थिए । तर, आमाबुबाले छोराछोरीमा कहिल्यै भेदभाव गरेनन् ।

अहिले उनले बुझेकी छिन्, आमाबुबाले दाइजो दिएको भए त्यो मासिनसक्थ्यो, नासिनसक्थ्यो तर पढाइले उनलाई संसारको जुनसुकै कुनामा गए पनि आत्मनिर्भर बनाउनेछ, त्यसको आधारमा उनले जीवन बाँच्न सक्नेछिन् ।

रूसमा ब्याचलर, मास्टर्स र पीएचडी
पुल्चोकको पढाइ सकेपछि सुमित्रा २०४८ सालमा आर्किटेक्ट पढ्न रूस पुगिन् । तर त्यहाँको पढाइ नेपालमा जस्तो सहज थिएन । नेपालमा ७० प्रतिशतभन्दा धेरै अंक ल्याएर आर्किटेक्टर पास गरेकी सुमित्रा त्यहाँ पहिलो परीक्षामै फेल भइन् ।

रूसमा व्यावहारिक शिक्षा दिइँदो रहेछ । आर्किटेक्चर पढ्न चाहनेहरुले स्कुलदेखि नै सो विषय रोज्नुपर्ने । सुमित्राले बुझिन् नेपालको टपरको रूसमा कुनै काम रहेनछ भन्ने । 
कागज काटेर त्यसलाई एउटा आकार दिइन्थ्यो । अनि सोधिन्थ्यो– भित्र कस्तो प्वाल बन्यो ? खोल्दा कस्तो प्वाल हुन्छ सुमित्रालाई थाहा थिएन । नेपालमा उनलाई त्यसरी कहिल्यै पढाइएन । मस्को इन्स्टिच्युट अफ आर्किटेक्चरमा पढ्ने उनको सपना चकनाचुर हुँदै थियो ।

तर उनले हार मानिनन् । परीक्षालगत्तै दुई महिनाको छुट्टी थियो । विद्यार्थीहरु घुम्न हिँडे । सुमित्रा रसियनहरुसँग कोचिङ क्लास लिन थालिन् । रातदिन नभनी मिहिनेत गरिन् । दुई महिनापछि राम्रो लक्षण देखियो । 
उनले क्लास लिने एक प्रोफेसर मस्को इन्स्टिच्युटकै थिइन् । सुमित्राको मिहिनेत देखेर उनले एउटा अवसरको लागि व्यवस्थापनसँग पहल गरिन् । त्यही एक अवसरले सुमित्राको भाग्य बदलिदियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

यसरी सुमित्राले विदेशीको कोटामा पाउने छात्रवृत्तिमै पीएचडीसम्मको अध्ययन रूसमै पूरा गरिन् । 

ललितपुर महानगरमा जागिर
सोभियत संघ रूस भएपछि निकै महंगी बढेको थियो । त्यसैले सुमित्राले ब्याचलर सकिनासाथ जागिर पनि गरिन् । उनी पढेकै कलेजमा भ्याकेन्सी आउँथ्यो । त्यहाँबाट सुमित्राले आर्किटेक्टको रुपमा काम पाइन् । यसरी उनले हप्ताको २१ घण्टा काम गरिन् ।

होटलहरुको डिजाइन गर्ने भएकाले उनले पैसा पनि राम्रै कमाइन् । पढ्ने, कमाउने र सिक्ने, उनका लागि त्यो सुवर्ण अवसर थियो । यसरी मास्टर्स पनि सकियो । उनी नेपाल फर्किइन् । तत्कालीन ललितपुर उपमहानगरपालिकामा जागिरे भइन् ।

आर्किटेक्टको रुपमा तीन महिना काम गरेपछि उनलाई फेरि पीएचडी गर्न रूस जान मन लाग्यो । ‘नेपालमा बसेर काम सिक्छुजस्तो लागेन । बरु पीएचडी गरेँ भने नेपालकै पहिलो पीएचडी महिला बन्छु भनेर त्यता लागेँ’, सुमित्रा सुनाउँछिन् ।

धेरैले यस्तो राम्रो जागिर छाडेर नजान सुझाव दिएका थिए तर सुमित्राले कसैको सल्लाह सुनिनन् । फेरि रूसमा पढाइ र जागिरलाई निरन्तरता दिइन् । रूसको दोस्रो इनिङमा उनले राम्रै पैसा कमाइन् । पैसामात्र होइन, जीवनसाथी पनि पाइन् । २०५३ सालमा उनको बिहे भयो । छोरी त्यहीँ जन्माइन् । 

रूस कि नेपाल ?
सुमित्रा पीएचडी गर्दासम्म रूसमा जमिसकेकी थिइन् । तर उनका श्रीमान् नेपाल आएका थिए । साथमा छोरी थिइन् । त्यसैले उनले पनि नेपाल फर्किने निधो गरिन् ।

‘श्रीमान् नेपालमै बसेर केही गर्छु भन्नुहुन्थ्यो तर उहाँको व्यवसाय घाटामा चलिरहेको थियो । यस्तो बेला म पनि नेपाल आएर उहाँलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो र आएँ’, सुमित्रा रूसको डलर मोह त्यागेर नेपाल आउनुको कारण सुनाउँछिन् । अर्थात्, उनलाई त्यतिबेला पैसाभन्दा परिवार महत्वपूर्ण लाग्यो ।

व्यवसायमा घाटा भएर श्रीमान्ले घरजग्गा नै बेच्नुपरेको थियो । यस्तो अवस्थामा सुमित्राको नेपाल आगमन विशेष रह्यो । उनले रूसमा कमाएको पैसा श्रीमान्लाई सहयोग गरिन् ।
अझ रोचक कुरा त के छ भने त्यतिबेला सुमित्राले क्यानडाको भिसा पाएकी थिइन् । उनले त्यसलाई पनि त्यागिदिइन् ।

नेपाल आएपछि सुमित्राले महसुस गरिन्, ‘मसँग त्यति धेरै ट्यालेन्ट छैन कि म बिल गेट्स बन्न सक्छु । तर मसँग जति ट्यालेन्ट छ त्यो नेपालका लागि काफी छ ।’ उनका आमाबुबा र दाइ अमेरिकामा थिए । तर, उनी नेपालमा बस्न पाउँदा यतिबेला आफूलाई भाग्यमानी ठान्छिन् ।

सुमित्रालाई नेपाल सरकारले स्कुलस्तरदेखि नै छात्रवृत्ति दियो । सरकारकै लगानीमा पीएचडीसम्म गरिन् । त्यसैले नेपालका लागि आफूले पनि केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । यो कुराले पनि उनलाई नेपाल फर्किन प्रेरित ग¥यो ।

ख्वपदेखि पुल्चोकसम्म
भक्तपुरमा रहेको इन्जिनियरिङ कलेजका प्रिन्सिपल राजन सुवाल स्कुलमा सुमित्राका सिनियर थिए । २०५८ सालमा नेपाल फर्किएको भोलिपल्ट नै उनले राजनलाई भेटिन् । पर्सिपल्टदेखि त ख्वपमा पढाउन थालिन् । दुई महिना त्यहाँ अध्यापन गरेपछि उनलाई सिभिल होम्सबाट अफर आयो ।

उनले त्यहाँ सिनियर डिजाइनरको रुपमा काम गर्न थालिन् । तलब पनि आकर्षक नै थियो । तर १० महिना काम गरेपछि त्यहाँ पनि उनले आफूलाई ‘स्पेस’ नपुगेको महसुस गरिन् । ‘त्यसपछि म लिखित पास गरेर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा करारमा काम गर्न थालेँ’, सुमित्रा सुनाउँछिन् । त्यहाँ उनले ६ वर्ष बिताइन् ।

यो अवधिमा खुबै आनन्द भयो । कारण, उनले त्यहाँ धेरै समय दिनुपर्दैनथ्यो । खाली समयमा थुप्रै भवनको डिजाइन गरिन्, साथीहरुको कन्सल्टेन्सीहरुमा ।

फोहोरमैलाको सारथि
काम गर्दै जाँदा सुमित्रालाई फोहोरमैला तथा स्रोत परिचालन केन्द्रमा महानिर्देशकको अफर आयो । उनलाई लाग्यो, मैले फरक अनुभव गर्नुपर्छ ।

‘म इन्जिनियर हो । पीएचडी गर्ने पहिलो महिला पनि हो । तर मैले केही कुरा मिस गरिरहेकी छु भन्ने लाग्यो र म निर्देशक बन्न तयार भएँ’, उनी भन्छिन् ।

सरकारी जागिरे भएपछि सुमित्राले सरकारी निकायको विकृति, त्यहाँका ऐन–कानुनबारे बुझ्ने अवसर पाइन् । अर्थात्, सरकारी कार्यालयको एक कुनाबाट नेपालको बिग्रिँदो अवस्थाबारे उनले चाल पाइन् । आफू आएको ठाउँ त राजनीतिक थलो रहेछ भन्ने उनलाई लाग्यो ।

त्यतिबेला माधवकुमार नेपाल देशका प्रधानमन्त्री थिए । उनले सुमित्रालाई बोलाएर सोधे, ‘तिमी काम गर्न सक्छौ ? तिम्रो अनुभव छ त ?’ 

सुमित्राले जवाफ दिइन्, ‘अवसर नै नपाउने हो भने कसरी अनुभव लिने प्रधानमन्त्रीज्यू ! म गरेर देखाउँछु, बरु सकिन भने फिर्ता बोलाउनुस् न !’ 

सुमित्रा निर्देशक त बनिन् तर उनलाई कर्मचारीले नै साथ दिएनन् । हेप्न थाले । पूर्वनिर्देशकका श्रीमतीहरु उनलाई भेट्न आउन थाले । उनीहरु सुमित्रासँग भन्थे, ‘मेरो श्रीमान्ले त त्यो कुर्सीमा बस्दा हट ब्यागमा बसेको अनुभव गर्नुहुन्थ्यो । तपाईं कस्तो महिला हुनुहुँदो रहेछ भनेर भेट्न आएको ।’

पूर्वनिर्देशकहरु आएर सोध्थे, ‘तपाईंको प्रेसर बढेको छैन । तौल घटेको छैन ?’ सुमित्राले चारैतिरबाट निरुत्साहन मात्र पाइन् । घरकाले समेत इन्जिनियर बनेकी छोरी किन फोहोरसँग खेल्न गएकी होलि भन्न थाले । तर, उनले हार मानिनन् ।

सबैभन्दा पहिले काठमाडौंमा महिना दिनसम्म किन फोहोर थुप्रिन्छ र ओखरपौवाको समस्या के हो भन्ने कुराको अध्ययन गरिन् । त्यहाँका स्थानीयको माग केलाउन थालिन् । ऐन–कानुन पनि अध्ययन गरिन् ।
सबैभन्दा ठूलो समस्या त ऐन–कानुनमै रहेछ ।

२०४४ सालमा बनेको ऐनमा टेकेर अवरोध पु¥याउने कसैलाई कारबाही गर्ने अवस्था नै देखिएन । त्यसपछि उनले नयाँ ऐनका लागि पहल गरिन् । अनि बन्यो, फोहोरमैला व्यवस्थापन ऐन २०६८ ।
‘मैले आफ्नो कार्यकालमा फोहोरलाई मोहर हो भनेर ग्लामर थप्न सकेँजस्तो लाग्छ’, उनी सुनाउँछिन्, ‘इन्जिनियरमात्र भएको भए मैले फरक संसार देखाउन सक्ने थिइनँ ।’

उनले संसारमात्र देखिनन्, सरकारी खर्चमा पढेर आएपछि देशका लागि केही गर्नुपर्छ भन्ने मनोभावलाई समेत पूरा गरिन् । त्यतिबेला सुमित्रालाई शनिबार या आइतबार हुँदैनथ्यो । उनले वाग्मती सरसफाइ अभियान चलाइन् ।

एक कर्मचारीले त उनलाई त्यतिबेला झपारेका समेत थिए, ‘शनिबार पनि जाऊँ भन्ने हामीलाई ! परिवार छैन ! छोराछोरी छैन ! समय दिनुपर्दैन ! कस्तो महिला हो तपाईं ?’

सुमित्राले उनलाई जवाफ दिन्थिन्, ‘परिवारमा त छोराछोरी सबै छन् तर शनिबारको दिन दुई घण्टा सुतेरै बित्ने हो । यति समय यता दिँदा के हुन्छ र ?’

योजना आयोगमा ‘फ्रस्टेसन’
फोहोरमैलामा अब्बल कार्यकालपछि सुमित्रा पूर्वाधार क्षेत्र हेर्ने गरी राष्ट्रिय योजना आयोगको सदस्य भइन् । त्यहाँ उनलाई चौधौँ योजना बनाउने अवसर मिल्यो । त्यसपछि हरेक पूर्वाधार विकास सँगसँगै वातावरण पनि जोड्नुपर्ने भयो ।

इन्जिनियर सुमित्रालाई त्यहाँ भान भयो – इन्जिनियर भएर मात्र नहुँदो रहेछ, सबैभन्दा महत्वपूर्ण कुरा त सामाजिक हुनु रहेछ । उनलाई जीवनले सिकाएको सबैभन्दा ठूलो पाठ यही थियो ।

उनले योजना आयोगमा बसेर सोचेअनुसार काम गर्न सकिनन् । वर्षौँदेखि योजनाहरु बन्ने तर त्यसको कुनै प्रभाव नदेखिने कुरा आफ्नै आँखाले देखिन् । योजनाहरु आम नागरिकको जीवनशैलीसँग नजोडिएको अनुभव उनलाई भयो । फ्रस्टेसन (निराशा) भइरहेको थियो । राजीनामा दिएर हिँडिन् ।

‘माननीय, मान्यहरु योजना लिएर आउने, उहाँहरुको मन राखिदिनुपर्ने । २०–२५ हजारको योजना पनि आयोगमार्फत सिफारिस गर्नुपर्ने । यसका लागि त नगरपालिका र गाउँपालिका छँदै थियो नि ! योजना आयोगले जे काम गर्नुपर्ने थियो, त्यो नगरेको महसुस मलाई भयो’, सुमित्रा आक्रोश पोख्छिन्, ‘केही मानिसलाई खुसी बनाउन लाग्दा देश दशकौँ पछाडि धकेलिन्छ भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्छ ।’

इन्जिनियरिङ एसोसिएसनमा हार्दाको अनुभव
देशको ८०–९० प्रतिशत बजेट इन्जिनियरको हातबाट खर्च हुन्छ भन्ने सुमित्रालाई राम्रोसँग थाहा थियो । सडक, रेलवे, कुलो, हाइड्रोपावर, पूर्वाधार निर्माणलगायतका हरेक चीजमा इन्जिनियरको भूमिका रहन्छ । त्यसैले सुमित्रालाई लाग्यो, ‘अब मैले इन्जिनियरहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’

त्यसैले उनी योजना आयोगबाट निस्किएपछि इन्जिनियर्स एसोसिएसनको कार्यकारी अध्यक्षमा चुनाव लडिन् । जुन देशभरका इन्जिनियरहरुको एउटा बृहत् सञ्जाल हो ।
अध्यक्षमा पाँच जना प्रतिस्पर्धी थिए । सुमित्रालाई लागेको थियो – उनले आजसम्म जे जति काम गरेकी छिन्, त्यो चुचाव जित्नलाई काफी छ । तर, नहुने रहेछ । भन्छिन्, ‘त्यहाँ त सबैले सहयोग गर्छौँ भनेर ठिक्क पार्दा मात्र रहेछन् । एउटा समूह नै हुँदोरहेछ । राजनीति हाबी हुँदोरहेछ ।’

त्यतिबेला सुमित्राले आफूले चुनाव जितेको अवस्थामा आफ्नो कार्यकालभर कुनै पनि नियुक्ति नलिने वाचा गरेकी थिइन् । इन्जिनियरिङ क्षेत्रमा रहेको विकृतिलाई साम्य पार्ने र इन्जिनियरको आवाजलाई आफ्नो आवाज बनाएर लैजाने उनको सोच थियो । जुन पूरा भएन ।

‘चुनाव हारेपछि इन्जिनियरका लागि गर्न सक्नेजति गर्न सकिनँ कि भन्ने लागेको छ’, सुमित्राले विगत कोट्याइन्। यतिबेला भने उनी सामाजिक कार्यमा लागेकी छिन् । इन्जिनियरले बनाएको घरमा एसी नचलाई बस्न सक्ने वातावरण हुनुपर्छ भन्ने उनको मान्यता छ । भन्छिन्, ‘घरमा लगाउने पेन्टमा लेन नमिसिएको हुनुप¥यो ।

जसले स्वास्थ्य र वातावरणलाई हानि नगरोस् । यही अवधारणाका साथ मैले स्कुलहरुमा अहिले ‘ग्रिन स्कुल’ नामक कार्यक्रम चलाइरहेकी छु ।’ 

इन्जिनियरिङ क्षेत्रमा महिला सहभागिता
सुमित्रा इन्जिनियरिङ क्षेत्रमा रहेको महिला सहभागिता निकै कम रहेको बताउँछिन् । सरकारी क्याम्पसमा दिइएको आरक्षण महिलाका लागि निल्नु र ओकल्नुजस्तै रहेको उनको धारणा छ । ‘प्राइभेट कलेजहरुमा खोइ महिलालाई आरक्षण कोटा ?’, उनी प्रश्न गर्छिन् ।

महिलाहरुमा पनि जागिरे मानसिकता हाबी भएका कारण पछि परेको उनको धारणा छ । महिला इन्जिनियरले जागिरे हुनुभन्दा रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने सुमित्रा बताउँछिन् ।
महिला माथिल्लो तहमा पुग्न नसक्नु र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउनुमा महिला आफैँ कारण रहेको सुमित्राको बुझाइ छ । ‘इन्जिनियर भएपछि म यो ठाउँमा जान्न, गाह्रो काम हो भन्न मिल्दैन नि ! सक्दैनौँ, घर हेर्नुपर्छ भनेर पछि हट्नुभन्दा श्रीमान्–परिवारलाई कन्भिन्स गरेर अगाडि बढ्नुपर्छ ।’

आफू एउटा इन्जिनियर महिला भएपछि अरु इन्जिनियर महिलाका लागि के गर्न सकेँ भन्ने सोच सबैमा हुनु आवश्यक रहेको सुमित्राको भनाइ छ ।

‘सबैभन्दा पहिला हामी महिला हौँ भनेर नसोचौँ । हामी जस्तो पनि काम गर्न सक्छौँ भनेर आत्मबल बलियो बनाऔँ र जागिर खानका लागि मात्र नभएर इन्जिनियरिङ क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने मानसिकता राखेर पढौँ र गरौँ’, सुमित्रा महिला इन्जिनियरहरुलाई सुझाव दिन्छिन् ।

इन्जिनियर भएपछि उसको पेशाबाट समाजलाई कति फाइदा भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले इन्जिनियरहरुको व्यक्तित्व सामाजिक हुनुपर्ने सुमित्राको जोडदार माग छ । भन्छिन्, ‘इन्जिनियरले सामाजिक दायित्व बोध गर्ने हो भने समाज परिवर्तन छिटो हुन्छजस्तो लाग्छ मलाई ।’

अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘म मेरो देशमा वकिलभन्दा धेरै इन्जिनियरहरु उत्पादन गर्न चाहन्छु ।’ सुमित्रालाई लाग्छ, अमेरिकाजस्तो विकसित राष्ट्रलाई त अझै इन्जिनियर चाहिएको छ भने हामीजस्तो अल्पविकसित राष्ट्रका लागि त्यो अति आवश्यक छ ।

‘हामी अब क्वालिटीमा काम गर्नुपर्छ । उत्पादन र खपत बढाउनुपर्छ । इन्जिनियर भनेका भुस्याहा–चोर हुन् भन्ने भ्रम तोडनुपर्छ र त्यसका लागि सबै इन्जिनियरहरुमा आफ्नो कामप्रति लगाव र जिम्मेवारीबोध हुनु आवश्यक छ’, सुमित्रा अन्तिम वाक्य बोल्छिन् ।
इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट:



1 Comments

bishnu prajapati

Feb. 14, 2020, 11:57 a.m.

Bhaktapur Municipality ma Karar ma kam gareko kura khoi.....

Your Comments