इन्जिनियरिङको प्रवेश परीक्षाबाट हटाइयो ड्रइङ : विद्यार्थीलाई न्याय, निजी कलेजलाई राहत !

इन्जिनियरिङको प्रवेश परीक्षाबाट हटाइयो ड्रइङ : विद्यार्थीलाई न्याय, निजी कलेजलाई राहत !

ड्रइङ विषय प्लस टूको कोर्समा नहुने भएकाले विद्यार्थीले इन्जिनियरिङको प्रवेश परीक्षा तयारीका लागि कोचिङ सेन्टर गएर यो विषय पढ्दै आइरहेका थिए


इन्जिनियर्स नेपाल |  माघ २०, २०७६, काठमाडौं


#
engineersnepal.com

#

प्लस टूपछि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीका लागि राहत महसुस हुने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को पाठ्यक्रमबाट नयाँ शैक्षिक सत्र (२०७७–०७८) देखि ड्रइङ (इन्जिनियरिङ एप्टिच्युड) हटाइने भएपछि विद्यार्थीलाई राहत हुने भएको हो । ड्रइङ विषय प्यस टूको कोर्समा नहुने भएकाले विद्यार्थीले इन्जिनियरिङको प्रवेश परीक्षा तयारीका लागि कोचिङ सेन्टर गएर यो विषय पढ्दै आइरहेका थिए ।

यस विषयले प्रवेश परीक्षामा विद्यार्थीको टाउको दुःखाइरहेको थियो भने आईओईअन्तर्गतका निजी इन्जिनियरिङ कलेजले कोटाअनुसार विद्यार्थी नपाउँदा टाउको दुःखाउनुपरेको थियो ।


ADVERTISEMENT

एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन)ले निजी कलेजमा रहेको विद्यार्थी कोटाअनुसारको भर्ना नभएपछि ड्रइङ विषय हटाउन विभिन्नरुपमा पहल गरिरहेको थियो । यसैबीच पुस १६ गते प्रवेश परीक्षा बोर्डले सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र (२०७७–०७८) देखि प्रवेश परीक्षाबाट यो विषय हटाइएको जानकारी दिएको हो । 

हिजो यसको औचित्य छ भनेर राखिएको तर त्यसको आज औचित्य र आवश्यकता दुवै नरहेकाले हटाइएको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. ज्ञानबहादुर थापाले इन्जिनियर्स नेपालसँग भने ।

विद्यार्थीलाई न्याय
०७६ मा आईओईले जारी गरेको ‘स्नातक तहको प्रवेश–परीक्षा तथा क्याम्पस भर्नासम्बन्धी निर्देशिका’ अनुसार प्लस टूस्तरसम्मको पाठ्यक्रमको आधारमा इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि अनिवार्य गणित, भौतिकशास्त्र, अंग्रेजी, रसायन शास्त्र र ड्रइङसमेत गरी पाँच विषयको प्रवेश परीक्षा लिने उल्लेख छ ।

जसमध्ये ड्रइङ विषय १३ पूर्णाङ्कको हुने गथ्र्यो । पूर्ण कम्युटर प्रणाली विधिबाट लिइने उक्त परीक्षाको समय दुई घण्टा हुन्छ । जसमा गलत उत्तर दिइएमा नेगेटिभ मार्किङका आधारमा १० प्रतिशत अंक घटाइन्छ । 
प्लस टुमा नपढेको तर स्नातकको फस्र्ट सेमेस्टरमा पढाइ हुने ड्रइङ विषय प्रवेश परीक्षामा समावेश गरिएका कारण धेरै विद्यार्थीको नेगेटिभ मार्किङ आउने गरेको थियो । जसले गर्दा धेरैजसो विद्यार्थीको इन्जिनियरिङ पढ्न आवश्यक प्राप्तांक नपुग्ने समस्या हुन्थ्यो ।

यो समस्याका कारण एकातर्फ धेरै विद्यार्थी इन्जिनियरिङ पढ्नबाट वञ्चित थिए भने निजी क्याम्पसमा कोटाअनुसार विद्यार्थी संख्यामा सधैँ कमी हुन्थ्यो । अब विद्यार्थीले प्रवेश परीक्षामा यो विषयको परीक्षा दिन नपर्ने भएपछि दुवै समस्या हल देखिएको छ ।

‘आफूले कहिल्यै नपढेको विषयमा परीक्षा दिनुपर्ने भन्ने कुरा कतैबाट पनि तार्किक र न्यायसंगत थिएन’, एकोनका महासचिव रमेश श्रेष्ठले इन्जिनियर्स नेपालसँग भने ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति रोशन थापामगर प्लस टुमा साइन्स पढेर आएको विद्यार्थीले प्रवेश परीक्षा दिने हुँदा ड्रइङ विषय समस्याको रुपमा रहेकाले प्रवेश परीक्षाबाट यो विषय हट्नु सकारात्मक रहेको बताउँछन् ।

‘काठमाडौंमा रहेका विद्यार्थीका लागि त विभिन्न प्रवेश परीक्षा तयारी कक्षाहरु सञ्चालन हुन्छन् तर काठमाडौंभन्दा बाहिर रहेका विद्यार्थीका लागि यो समस्या निकै विकराल थियो’ स्ववियु सभापति थापामगर भन्छन्, ‘अब एकातर्फ विद्यार्थी ड्रइङ विषय पढ्नकै लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ भने अर्कोतर्फ प्रवेश परीक्षामा पास हुने विद्यार्थीको संख्या पनि बढ्ने देखिन्छ ।’ 

निजी कलेजलाई राहत
नेपालमा हाल त्रिविअन्तर्गत निजीस्तरबाट सञ्चालित ४१ वटा आंगिक कलेज छन् । यी कलेजमा १४ विद्यामा २३ वटा इन्जिनियरिङ विषयहरु अध्ययन भइरहेका छन् । तर, अधिकांश क्याम्पसमा सिभिल र क्म्युटरतर्फमात्र आकर्षण देखिन्छ । इलेक्ट्रिकल र इलेक्ट्रोनिक्सतर्फको अवस्था दयनीय नै छ ।

शैक्षिक सत्र ०७५–०७६ को तथ्यांक हेर्ने हो भने त्रिविबाट सम्बन्धन प्राप्त निजी क्षेत्रबाट सञ्चालित काठमाडौं, कान्तिपुर, सगरमाथा, एडभान्स, हिमालय, नेशनल, ललितपुर, काठफोर्ड र जनकपुर इन्जिनियरिङ कलेजको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा भर्ना कोटाको ३० प्रतिशतमात्र विद्यार्थी भर्ना भएका छन् ।

प्रवेश परीक्षामा विद्यार्थी पास संख्या बढ्दा यो समस्या हल हुने सम्भावना छ । विशेषगरी यो व्यवस्था निजी कलेजहरुलाई प्रोत्साहन गर्न आएको जानकारहरु बताउँछन् । सगरमाथा इन्जिनियरिङ कलेजका सञ्चालकसमेत रहेका महासचि श्रेष्ठ भन्छन्, ‘अब भविष्यमा निजी कलेजमा विद्यार्थी संख्या बढ्ने–नबढ्ने कुरा त पछि नै थाहा होला तर प्रवेश परीक्षामा पास भएका विद्यार्थीको नम्बर र इन्जिनियरिङ अध्ययनका लागि छानिने विद्यार्थीको संख्या भने पक्कै बढ्नेछ ।’

महासचिव श्रेष्ठले भनेजस्तै प्रवेश परीक्षा पास हुने विद्यार्थीको संख्या बढ्नु भनेको कलेजमा विद्यार्थीको संख्या पनि बढ्नु हो । जसले गर्दा प्रवेश परीक्षामा थोरै विद्यार्थी उत्तीर्ण हुँदा विश्वविद्यालयले तोकेको सिट संख्या निजी कलेजहरुको हकमा खेर गइरहेको अवस्था छ ।
 

ड्रइङको आवश्यकता र औचित्य थिएन : प्रा.डा. ज्ञानबहादुर थापा, अध्यक्ष, प्रवेश परीक्षा बोर्ड​

ड्रइङ विषय १९ वर्ष पहिलेदेखि राखिएको हो । त्योभन्दा पहिला यो विषयमा इन्जिनियरिङ पढ्ने विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने थिएन । त्यतिबेला विद्यार्थीहरु गणित, फिजिक्स र केमेस्ट्रीमा कमजोर भएका कारणले बीईमा प्रवेश पाइएन भन्ने गुनासाहरु आएका थिए । त्यसैले पनि ड्रइङ विषय समावेश गरिएको हो कि भन्ने मलाई लाग्छ । तर, त्यसको कुनै प्रभावकारिता देखिएन ।

आम सरोकारवाला, विद्यार्थी, प्राध्यापकहरुले कलेजमा आएपछि बल्ल पढाउने कुरामा पहिल्यै परीक्षा लिइयो भनेर गुनासो गर्नुभयो । कुनै विद्यार्थीले प्लस टुमा पढ्ने गणित, फिजिक्स र केमेस्ट्री नै वास्तवमा इन्जिनियरिङ पढ्नका लागि ड्रइङ हो भन्ने कुरा आएपछि हामीले यसलाई तत्कालका लागि असान्दर्भिक ठानेका हौँ ।

अब ड्रइङको नम्बर पनि अन्य विषयमा समावेश गरिनेछ । अर्को कुरा प्रवेश परीक्षामा अन्य विषयमा भन्दा ड्रइङमा विद्यार्थीको नम्बर एकदमै कम छ । त्यसैले पनि यसको आवश्यकता र औचित्य नरहेको हो भन्ने मलाई लाग्छ ।

अझै थुप्रै समस्या

केही विश्वविद्यालयमा प्लस टुमा सय पूर्णाङ्कको गणित विषय पढेपछि इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा दिन पाउने व्यवस्था छ । तर, त्रिविअन्तर्गतका कलेजहरुमा पढ्न दुई सय पूर्णाङ्कको गणित विषय पढ्नुपर्ने मापदण्ड बनाइएको थियो । जसको विरोधमा विद्यार्थीहरुले उच्च अदालतमा मुद्दा दायर गरेपछि दुई सय पूर्णाङ्कको व्यवस्था तत्काल लागू नगर्न पाटन उच्च अदालतले आन्तरिम आदेश जारी गर्नुप¥यो । 

गणितविनाको इन्जिनियरिङ भनेको पानीविनाको माछाजस्तै हुने भएकाले आफूहरुले त्यस्तो व्यवस्था राखेको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. ज्ञानबहादुर थापा बताउँछन् । ‘एउटा बिल्डिङ डिजाइन गर्नदेखि लिएर हरेक प्राविधिक कुरामा इन्जिनियर पोख्त हुनुपर्छ र त्यो प्राविधिक शिक्षाको एक अंश गणित विषय हो भन्ने अभिप्रायले हामीले त्यस्तो व्यवस्था ल्याएका हौँ’, अध्यक्ष थापा भन्छन् । यो समस्या अदालतमा अडिएको छ । यसको कुनै निकास आइसकेको छैन ।

त्यस्तै, सबै विषयमा सी ग्रेड आएकाहरुमात्र इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् । आईओईको प्रवेश परीक्षा निर्देशिकामा इन्जिनियरिङका लागि प्रवेश परीक्षा दिनका लागि तोकिएको न्यूनतम मापदण्डमा भनिएको छ, ‘प्रवेश परीक्षाको आवेदनका लागि भौतिक शास्त्र, रसायन शास्त्र तथा ११ र १२ मा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्कको कम्तीमा ४५ प्रतिशत र लेटर ग्रेडिङ भएमा एनईबीको हकमा सबै विषयहरुमा फाइनलमा न्यूनतम सी ग्रेड प्राप्त गरी उत्तीर्ण गरेको लब्धाङ्कपत्र वा अन्तिम परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुले पनि आवेदन दिई प्रवेश–परीक्षामा सहभागी हुन पाउनेछन् ।’

आईओईको यो मापदण्डको पनि एकोन र विद्यार्थीहरुले विरोध गरिरहेका छन् । एकोनका महासचिव श्रेष्ठ भन्छन्, ‘सरकारी तथा सामुदायिक विद्यालयहरुका अधिकांश विद्यार्थीहरुको अंग्रेजी विषय कमजोर र निजी विद्यालयहरुका विद्यार्थीहरुको नेपाली विषय कमजोर हुने देखिएको छ।’ यसको सिधा असर इन्जिनियरिङ अध्ययनका लागि अत्यावश्यक फिजिक्स, म्याथ र केमेस्ट्री विषयमा उत्कृष्ट ग्रेड हुँदाहुँदै पनि अंग्रेजी वा नेपाली विषयमा ‘सी’ ग्रेड नभएका कारण धेरै क्षमतावान् विद्यार्थीहरु इन्जिनियरिङ अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

तर, परीक्षा बोर्डका अध्यक्ष थापा भने गणितमा राम्रो ग्रेड आउने विद्यार्थीको अन्य विषयमा पनि राम्रो ग्रेड आउने बताउँछन् । भन्छन्, ‘इन्जिनियरिङ पढ्ने विद्यार्थी कमजोर हुनुहुँदैन, उसको धरातल पनि राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ 

हाल परीक्षा बोर्डले इन्जिनियरिङ पढ्न आउने विद्यार्थीलाई फरक–फरक प्रश्नहरु सोधेर फरक–फरक दिनमा जाँच लिन्छ । कम्प्युटर प्रणालीबाट लिइने जाँच दुई साता लामो हुने भएपछि यसको विरोध भइरहेको छ । तर, अध्यक्ष थापा भने विद्यार्थीलाई एउटै रेन्जको प्रश्नहरु सोध्ने गरिएको बताउँछन् । कुनै प्रश्नपत्रमा गुल्मीको क्षेत्रफल र कुनैमा अर्घाखाचीको क्षेत्रफल सोधिने हुनाले यसमा विवाद गर्नुपर्ने कुनै कारण नभएको उनले बताए । यस वर्षदेखि परीक्षा समय ६ दिनसम्म झार्ने आश्वासनसमेत उनले दिए । 

इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट:



5 Comments

Rakesh Pandit

Feb. 16, 2020, 9:43 a.m.

IOE entrance Ko naya syllabus kahile auxa???

Jagat thapa

Feb. 13, 2020, 6:34 p.m.

जुन IOE मा बिभिन्न्न कोटा मा छात्रवृत्ति दिने गरेको छ तेसमा चाहिँ ११/१२ जुनसुकै कलेज पढेको तर दस कक्षा सम्म अनिवार्य सरकरी पढेकोले पाउने ब्याबस्था गरेको भय अतेन्तै राहत मिल्ने थियो।

Manoj Agrawal

Feb. 9, 2020, 3:19 p.m.

Why entrance exam is held for each and every study nowadays It has become a most competitive for students admissions why not the marks obtained in plus 2 instead of entrance students now days go to coaching centres after paying a lot of money and their concentration instead of preparation of plus 2 exam properly it has made them for preparation of entrance more important than that of their study material nowadays

Arjun

Feb. 7, 2020, 4:26 p.m.

Abako syllebus kasto hunxa

Amrit Kshetri

Feb. 4, 2020, 2:44 p.m.

Loksewa ko syllabus bata aorport engineering pani hatayeko bhaye hunthyo....

Your Comments