देशका सबै वर्कशपहरुमा अपरेटर विज्ञ अनिवार्य गरौं, त्यसमा अटोमोबाइल इन्जिनियर राखौं !

देशका सबै वर्कशपहरुमा अपरेटर विज्ञ अनिवार्य गरौं, त्यसमा अटोमोबाइल इन्जिनियर राखौं !

सरकारले लागत साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन कार्यक्रमअन्तर्गत अटोमोबाइल इन्जिनियरिङमा ५० प्रतिशत विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।


इन्जिनियर्स नेपाल |  माघ २३, २०७६, काठमाडौं


#
engineersnepal.com

#

देशको अर्थतन्त्रलाई गतिशील बनाउन अटोमोबाइल क्षेत्रको भूमिका महत्वपूर्ण मानिन्छ । देशको राजस्वमा ४० प्रतिशतभन्दा धेरै सवारीसाधनको योगदान छ । वार्षिक १२ देखि १५ प्रतिशतले अटोमोबाइलको बजार बढिरहेको छ । यातायात व्यवस्था विभागको तथ्यांकलाई हेर्ने हो भने २०७५ सालसम्म नेपालमा करिब ३६ लाख यातायातका साधन दर्ता भइसकेका छन् । 

अटोमोबाइल क्षेत्र गाडी बिक्रीसँग मात्र जोडिएको छैन । यस क्षेत्रसँग वर्कशप र रोजगारी पनि जोडिएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठका अनुसार करिब २० लाख व्यक्ति यस क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आबद्ध छन् ।


ADVERTISEMENT

यस हिसाबले अटोमोबाइल देशको मेरुदण्डको रुपमा रहेको कुरामा कुनै शंका छैन । तर, यस क्षेत्रमा स्वदेशी दक्ष प्राविधिक जनशक्तिको भने अभाव छ । प्राविधिक पाटोसँग सम्बन्धित इन्जिनियरहरुको अभाव सधैँ खट्किरहन्छ ।

इन्जिनियर उत्पादनको थालनी

त्यही अभावको पूर्ति गर्न थापाथली इन्जिनियरिङ क्याम्पसमा अटोमोबाइल इन्जिनियरिङको पढाइ थालिएको छ । अटोमोबाइल मेकानिकल हुँदै थापाथलीमा नेपालमै पहिलोपटक अटोमाबाइल इन्जिनियरिङको पढाइ सुरु भएको हो ।

अटोमोबाइल इन्जिनियरिङ मेकानिकलको अपग्रेड स्वरुपमा चार वर्षअघि यसको पढाइ सुरु भएको थियो । यसै मंसिरमा अटोमोबाइल इन्जिनियरिङको स्नातकअन्तर्गतको पहिलो ब्याच उत्पादन भइसकेको छ । जसलाई नेपाल इन्जिनियरिङ परिषद्लेसमेत अनुमोदन गरिसकेको छ ।

 

सरकारले लागत साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन कार्यक्रमअन्तर्गत अटोमोबाइल इन्जिनियरिङमा ५० प्रतिशत विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ । 

 

अटोमोबाइल इन्जिनियरिङको डिग्री प्रदान गर्ने भए पनि पाठ्यक्रम भने ‘मेकानिकल इन स्पेलाइजेसन विथ अटोमोबाइल’को रुपमा बनाइएको छ । अर्थात्, क्याम्पसले देश र परिवेश सुहाउँदो शिक्षा दिइरहेको छ । 
तर सवारी उत्पादनका लागि आवश्यक अटोमोबाइल इन्जिनियरिङ भने पढाइ भइरहेको छैन । अध्यापनका लागि विज्ञ र प्रयोगशालाको अभावका कारण त्यस्ता इन्जिनियर उत्पादनको सम्भावना नरहेको जानकारहरु बताउँछन् । 

थापाथली क्याम्पस प्रमुख जनार्दन भट्ट भन्छन्, ‘यस कार्यक्रमका लागि ठूला र धेरै प्रयोगशालाहरु चाहिने भएकाले करोडौँँको लगानी आवश्यक छ । जुन हाम्रो संरचनाअनुसार वर्तमान अवस्थामा सम्भव छैन । हामीसँग स्रोत तथा साधनहरु सीमित छन् ।’ तर, थपाथलीमा अध्ययनरत विद्यार्थीहरु विभिन्न कम्पनीमा काम गरिरहेकाले इन्जिनियर उत्पादन नै अहिलेको महत्वपूर्ण पक्ष रहेको उनी बताउँछन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल विश्वकै युनिक हिमालको देश भएकाले अटो मोबाइलका नयाँ डिजाइन उत्पादन र परीक्षण गर्न नेपाल सुहाउँदो भूमि भएकाले उद्योगको विकास गर्ने ज्ञान प्रदान गर्नेतर्फ पनि अटोमोबाइल इन्जिनियरिङको पाठ्यक्रम समेटिनुपर्ने बताउँछन् । 

 

देशका सबै वर्कशपहरुमा अपरेटर विज्ञ आवश्यक देखिन्छ । त्यो व्यक्ति भनेको अटोमोबाइल पढेको इन्जिनियर नै हो ।

 

खनाल भन्छन्, ‘नेपालमा परीक्षण भएका गाडी विश्वको जुनसुकै कुनामा पनि चलाउन मिल्छ । त्यसैले हामीले गाडीको उत्पादन, डिजाइन र जाँच गर्नेजस्ता विषय पनि पाठ्यक्रममा समेट्न सक्यौँ भने देशको आर्थिक मेरुदण्डमा पनि यसले धेरै फाइदा पु¥याउँछ ।’

मिश्रित पाठ्यक्रम

हाल थापाथली क्याम्पसमा अटोमोबाइलसँग सम्बन्धित तीनवटा कार्यक्रमहरु संचालित छन् । इन्डस्ट्रियल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ । अटोमोबाइल मेकानिकलको परिमार्जित कार्यक्रम भएकाले मेकानिकल इन्जिनियरिङ र अटोमोबाइल दुवैको मिश्रित पाठ्यक्रमको रुपमा पढाइ भइरहेको क्याम्पस प्रमुख भट्ट बताउँछन् ।

यसरी, अटोमोबाइल इन्जिनियरिङको उपाधि प्राप्त गरेका इन्जिनियरहरु अटोमोबाइल कम्पनीमा इन्जिनियर वा मेकानिकलको रुपमा काम गर्न सक्छन् । थापाथलीमा हाल सञ्चालित कार्यक्रमअनुसारको प्रयोगशाला पनि छन् । तर, पूर्णरुपमा अटोमोबाइलको आधारमा भने प्रयोगशालाहरु छैनन् ।

क्याम्पस प्रमुख भट्ट भन्छन्, ‘नेपालमा सवारीसाधन उत्पादन हुँदैन । विदेशमा उत्पादित सवारीको बिक्री गर्ने र मर्मत गर्ने काम यहाँ हुन्छ । एसेम्बलिङका लागि भइरहेको पहलले सार्थकता पाउनसकेको छैन । त्यसैले देशलाई समय सुहाउँदो पाठ्यक्रम र प्रयोगशालामात्र हामीकहाँ छ ।’ 

बजारमा अटोमोबाइल इन्जिनियरको बढ्दो माग 

नेपालमा सयौँ अटोमाबाइल कम्पनीहरु सञ्चालित छन् । तर, ती कम्पनीहरुले मागअनुसार दक्ष अटोमोबाइल इन्जिनियरहरु पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा विदेशबाट प्राविधिक मगाउनुपर्ने बाध्यता छ । या स्वदेशी प्राविधिकले पनि ज्ञान र विज्ञताका आधारमा भन्दा अनुभवको आधारमा काम गरिरहेका छन् । जसको हल गर्न थापाथली क्याम्पसले प्राविधिकहरु उत्पादन थाल्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

पछिल्लो समय होन्डा, टोयोटालगायतका कम्पनीका माथिल्लो तहका व्यक्ति इन्जिनियरको माग गर्दै थापाथली क्याम्पस पुगेका छन् । ‘हो, हामीलाई अटोमोबाइल इन्जिनियरहरु उपलब्ध गराइदिनुहोस् भन्दै धेरै कम्पनीका साथीहरु हामीकहाँ आउनुभएको थियो । यसले बजारमा रहेको अटोमोबाइल इन्जिनियरहरुको न्यून उपस्थितिलाई प्रष्ट संकेत गर्छ’, क्याम्पस प्रमुख भट्ट भन्छन्, ‘तर, हामी म्यानपावर होइनौँ इन्जिनियर बेच्नलाई । बरु पढाइका दौरान इन्टर्नशिपको रुपमा काम गर्ने अवस्थामा सहकार्य गर्न सकिन्छ भनेर मैले उहाँहरुलाई भनेको छु ।’

थापाथलीमा पढेका विद्यार्थीहरु व्यक्तिगतरुपमा भने कुनै न कुनै कम्पनीसँग जोडिएका छन् । अटोमोबाइल इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थी पनि खाली बस्नुपरेको छैन । पूर्वअर्थसचिव खनालका अनुसार हाल नेपालमा दैनिक सयभन्दा धेरै अटोमोबाइल इन्जिनियरको माग छ । यति नै संख्यामा एक वर्षसम्म माग जारी रहने उनी बताउँछन् ।

भन्छन्, ‘नेपालमा अटोमोबाइल क्षेत्रको विकास र विस्तारसँगै जथाभावीरुपमा वर्कशप खोल्ने प्रवृत्ति बढेको छ । जसले गर्दा मर्मतसम्भार राम्रोसँग हुन नपाएर दुर्घटना बढ्ने अवस्था आएको छ । देशका सबै वर्कशपहरुमा अपरेटर विज्ञ आवश्यक देखिन्छ । त्यो व्यक्ति भनेको अटोमोबाइल पढेको इन्जिनियर नै हो ।’

लोकसेवामा समेत अवसर

अटोमोबाइल इन्जिनियरिङको पहिलो ब्याचको परीक्षाफल गत मंसिर १४ गते प्रकाशित भयो । यससँगै यस क्षेत्रमा ४८ जना स्वदेशी अटोमोबाइल इन्जिनियर उत्पादन भएका छन् । उनीहरुका लागि सरकारले १७ गते नै लोकसेवामा तीन सिट खोलेको छ । उद्योग, मेकानिकल र अटोमोबाइल भनेर माग गरिएको तीन अधिकृत तहको प्राविधिकमा उनीहरुमध्ये नै छनोट हुनेछन् ।

थापाथली क्याम्पसले गाडीमा आएको नयाँ सिस्टमलाई परिभाषित गर्न आफ्ना अटोमोबाइल अध्ययनरत विद्यार्थीलाई सम्बन्धित कम्पनीमा पठाएर सहयोगसमेत गरेको छ । केही समयअघि सुजुकीको हाइब्रिड मोडलको नयाँ बलेनो गाडी बजारमा आएको थियो । यातायात व्यवस्था कार्यालयले त्यो गाडी नेपालको सडकमा गुडाउन कति उपयुक्त छ या छैन भनेर एकीन गरेर ल्याउन सुजुकीलाई भन्यो । सुजुकीले थापाथली क्याम्पसलाई त्यसबारे अध्ययन गरिदिन आग्रह ग¥यो । क्याम्पसले आफ्ना विद्यार्थीहरु पठाएर अध्ययन ग¥यो ।

यसरी बजारमा विज्ञ अटोमोबाइल इन्जिनियरको अभाव रहेको अवस्थामा अटोमोबाइल इन्जिनियरको भविष्य सुनिश्चित देखिन्छ । क्याम्पस प्रमुख भट्टका अनुसार थापाथलीबाट इन्जिनियरिङ गरेका विद्यार्थीले भविष्यमा आफ्नै कम्पनी खोल्नेदेखि विभिन्न अध्ययनको क्षेत्रमा काम गर्न सक्नेछन् । विद्यार्थीलाई अध्ययनका क्रममा भविष्यमा जागिर, उद्यम र अनुसन्धानको क्षेत्रमा काम गर्ने गरी तीन कुरामा केन्द्रित गराइन्छ । 

५० प्रतिशत छात्रवृत्ति, जागिर ग्यारेन्टी

अटोमोबाइल इन्जिनियरिङमा थापाथली क्याम्पसमा प्रत्येक शैक्षिक सत्रमा ४८ जना विद्यार्थीका लागि सिट छुट्याइएको छ । त्यसमा पनि सरकारले लागत साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन कार्यक्रमअन्तर्गत अटोमोबाइल इन्जिनियरिङमा ५० प्रतिशत विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ । 

निःशुल्क पढ्न पाउनुका साथै विद्यार्थीलाई आश्रय खर्चका रुपमा मासिक ६ हजार रुपैयाँको दरले प्रदान गरिन्छ । प्रवेश परीक्षाको नतिजाको आधारमा छात्रवृत्तिका लागि विद्यार्थीहरु छनोट गरिन्छ ।
सरकारको छात्रवृत्ति पाएर पढेका विद्यार्थीहरुले सामुदायिक विद्यालयमा तीन वर्ष अनुवार्यरुपमा प्राविधिक शिक्षा अध्यापन गराउनुपर्ने हुन्छ । यसरी अधिकृतस्तरको तलब सुविधामा रोजगारीको अवसर समेत सरकारले नै प्रदान गरिदिन्छ ।

लागत साझेदारीमा दक्ष प्राविधिक जनशक्ति विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ अनुसार विद्यार्थीले छात्रवृत्तिमा पढ्दा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । पहिलो, ‘अध्ययन समाप्त भएपश्चात् तोकिएको समयभित्र सम्बन्धित शैक्षिक संस्था/विश्वविद्यालय, अनुदान आयोग÷शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछु’ र ‘दोस्रो अध्ययन समाप्त भएपश्चात् तोकिएको क्षेत्रमा तोकिएको अवधिसम्म अनिवार्य काम गर्नेछु’ भन्ने बुँदा सहमति पत्रमा उल्लेख छन् ।  

इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट:



Your Comments