पूर्वाञ्चल क्याम्पसका विद्यार्थीको लाइसेन्सको समस्या मन्त्रिपरिषद्बाट हल हुँदै

पूर्वाञ्चल क्याम्पसका विद्यार्थीको लाइसेन्सको समस्या मन्त्रिपरिषद्बाट हल हुँदै


इन्जिनियर्स नेपाल |  पुस २४, २०७६, काठमाडौं


#
engineersnepal.com

#

धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको विषय छलफलका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । आफूहरुले अध्ययन गरेको विषय नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता नभएपछि विद्यार्थीहरुले सोमबार क्याम्पसमा तालाबन्दी गरेका थिए ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ०७१ र ०७२ सालमा अध्ययन गरेका विद्यार्थीको नाम परिषद्मा दर्ता भएको थिएन । अध्ययन संस्थान अन्तर्गतका क्याम्पसले कुनै पनि विषय अध्यापन गराउनुपूर्व परिषद्सँग स्वीकृति लिनुपर्ने हुन्छ । तर, पूर्वाञ्चल क्याम्पसले स्वीकृति नलिई इलेक्ट्रिक विषयका दुई ब्याज पास आउट गरिसकेको छ ।
समस्या बल्झदै गएपछि विद्यार्थीको भविष्यलाई ख्यालमा राखेर परिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र काटेको थियो । यस्तो समस्याको हल मन्त्रिपरिषद् बैठकबाट मात्र गर्ने व्यवस्था भएकाले आफूहरुले पहलका लागि मन्त्रालयलाई पत्र लेखेको परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले इन्जिनियर्स नेपाललाई जानकारी दिए ।
परिषद्ले भदौमा नै मन्त्रालयलाई पत्र काटेको थियो । तर, मन्त्रालयले परिषद्को पत्रको आधारमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थिएन । केही दिनअघिमात्र सो प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भएको भौतिक मन्त्रालय उच्च स्रोतले इन्जिनियर्स नेपाललाई जानकारी दियो । अब पूर्वाञ्चल क्याम्पसको समस्या मन्त्रिपरिषद्बाटै हल हुने भएको छ । 
यता, परिषद्का अध्यक्ष निरौला नियम–कानुनभन्दा बाहिर गरेर अध्यापन गराउने विषयको स्वीकृति नै नलिई पूर्वाञ्चल क्याम्पसले दादागिरी शैली देखाएको बताउँछन् । ‘परिषद्सँग स्वीकृति लिएर पढाउनुपर्नेमा पहिले पढाउँछन्, विद्यार्थी निक्लन्छन् अनिमात्र परिषद्लाई ताक्छन्’ अध्यक्ष निरौला भन्छन्, ‘२–४ वटा कोठा भाडामा ल्यायो, विद्यार्थीलाई पढाउन थाल्यो । पैसा कमायो । यसरी विद्यार्थीको भविष्य डामाडोल पार्ने काम क्याम्पसहरुले गर्न मिल्छ ?’
एउटा विद्यार्थीको समूहले गत सोमबार आफूहरुले पढेको विषय परिषद्मा दर्ता नहुँदा भविष्य अन्यौलमा परेको भन्दै क्याम्पसमा तालाबन्दी गरेका थिए । क्याम्पस प्रमुख ओमप्रकाश ढकाल आफूभन्दा अगाडिका क्याम्पस प्रमुखले समन्वय नगर्दा समस्या देखिएको बताउँछन् । तर, उनी आएपछि पनि दर्ता नभएका विषय पढाई भइरहेका छन् । ढकाल यही पुस १७ गतेदेखि क्याम्पस प्रमुख भएर आएका थिए ।
त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ विषयहरु पठन पाठनका लागि स्वीकृत दिएको सरकारी आंगिक क्याम्पसबाट पास आउट भएका विद्यार्थीले परिषद्बाट लाइसेन्स वा जागिरका लागि दर्ता नम्बर पाउने व्यवस्था गरेको छ । परिषद्ले आफूसँग स्वीकृति लिएर पढेको विषयका आधारमा मात्र इन्जिनियरिको रुपमा विद्यार्थीको नाम दर्ता गरिदिन्छ ।
पुर्वाञ्चल क्याम्पसमा हाल इन्जिनियरिङका विभिन्न विषय अध्ययरत करिब १८ सय विद्यार्थीहरु छन् । आर्किटेक्चर र इलेक्ट्रिकल विषय भने परिषद्को स्वीकृति नलिई अध्ययन अध्यापन भइरहेको छ ।
 


ADVERTISEMENT



Your Comments