05 May 2026
२०८३-०१-२२ (मंगलबार)
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले १५ दिनभित्र इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट दरखास्त बुझाउन सूचना प्रकाशित गरेको हो।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २७ को उपदफा (१) अनुसार रजिष्ट्रार नियुक्तिका लागि आवेदन खुलाइएको हो। इच्छुक उम्मेदवारले कार्यालय समयमा सिंहदरबारस्थित पूर्वाधार निर्माण तथा यातायात महाशाखामा रीतपूर्वक दरखास्त बुझाउनुपर्नेछ।
इन्जिनियरिङ विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको, उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन, लागू औषध कारोबार, अपहरण लगायत फौजदारी कसुरमा सजाय नपाएको ब्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।
आवदेन पेश गर्दा शैक्षिक योग्यता, कार्य अनुभव, र सम्पर्क विवरण सहितको विस्तृत व्यक्तिगत विवरण, प्रमाणित नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, पाँच हजार शब्दभित्रको व्यावसायिक कार्ययोजना, छुट्टै सिलबन्दी खाममा राखेर पेश गर्नुपर्ने छ ।
उम्मेदवारले बुझाएको दरखास्तहरूको छानबिनपछि संक्षिप्त सूची तयार गरिनेछ। संक्षिप्त सूचीमा परेकाहरूले आफ्ना कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्तामा सहभागी हुनुपर्ने सूचनामा उल्लेख छ ।
थप जानकारीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वेबसाइट http://www.mopit.gov.np/ हेर्न वा मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा, सिंहदरबारमा सम्पर्क गर्न सकिनेछ।